Tuesday, June 16, 2009

मस्तिष्क

तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ

के मस्तिष्कले सबै काम गर्न सक्छ
सक्छ बिल्कुल सक्छ ।

हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले
भुईंमा बामे सर्ने ती नानीलाई
आकाशको चरी बनाउँछ मस्तिष्कले
छिया-छिया भई फुटेका ती आँकुरालाई
एकबद्ध बनाउँछ मस्तिष्कले
आखिर
इतिहासको योद्धा र समानताको प्रतीक हो मस्तिष्क
आविष्कारको खानी र संस्कारको कुण्ड हो मस्तिष्क
प्राणीको सर्वोपरी धन र धरतीको हतियार हो मस्तिष्क
गरिबको अन्न र बालकको किताब हो मस्तिष्क ।

तर यो के
रङ्गमाचको नाटकजस्तै
अचेल टिभीहरुमा बिक्दैछ मस्तिष्क
फुटपातमा अभद्र तरिकाले
धुलोहरुसँग खेल्दैछ मस्तिष्क
के कृत्रिम सजावटको उत्कर्ष मात्र हो मस्तिष्क ?
कतै नेताहरुको भाषण जस्तै
विक्षिप्त त छैन मस्तिष्क ?

तैपनि कुन्नी किन
तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ ।

फूल र काँडा

सहिदको पवित्र हातले रोपेको फूल जोगाउन
मालीहरु आइसके
काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन्
तर काँडाहरुको छलकपटको सोचदेखि
सारा नेपाली जनता अघाइसके
किनकि
फूलहरुका कोपिला झन्-झन बढ्दै गइरहेका छन्
बगैचामा छैन त फूल आज के भो
मानिसको आत्मामा छ
मानिसको स्वच्छ मन र स्वच्छ सोचाइमा छ
हरेक सन्ततिहरुको जन्माइमा छ
खुसीको लहर फैलाउने जमातमा छ
अर्थबिनाका काँडाहरुको अब पालो पुगिसक्यो
अब पालो केबल फूलहरुको छ
फूल जोगाउने मालीहरुको छ
सहिदको पवित्र हातले रोपेको त्यो फूल जोगाउन
विजयी हामी हुनुपर्छ
सभ्यता तुहाउने काँडाहरुलाई जरैबाट उखेल्नुपर्छ ।