Wednesday, November 11, 2009

कालरात्रीहरु

कालरात्रीहरुले जगड्नु जगडिसके
अब बिहानीलाई जगडबन्दी गर्न नखोज
नत्र भयानक हुनेछ
जहाँ उज्यालोको ठाउँ छैन
त्यहाँ नै क्रान्ति छाउने छ
जहाँ समानता छैन
त्यहाँ नै भोकाको शासन आउने छ
जहाँ सम्मानको पाठ सिकाइदैन
त्यहाँ संघर्षको मू्ल फुट्नेछ ।

तिम्रो मृत्यु नजिक छ
सावधान कालरात्रीहरु !
अब रात छिट्टै घाममा परिणत हुँदैछ
न्यायलाई पल्टाउन खोज्ने ती हत्केलाहरुलाई
नयाँ बिहानीले चुनौती दिदैछ ।

अब सोच्न बन्द गर
तिमीहरुकॊ स्मरण सक्ति हराइसक्यो
अब सोच्ने पालो हाम्रो
केवल हाम्रो
नयाँ विगुल बज्नेछ
विश्व नै एक बन्ने छ
फेरि एउटा आमाको जन्म हुनेछ
सपुतको प्रशंसा जताततै फैलनेछ
र उदाउनेछ एउटा नयाँ युग ।

Tuesday, June 16, 2009

मस्तिष्क

तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ

के मस्तिष्कले सबै काम गर्न सक्छ
सक्छ बिल्कुल सक्छ ।

हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले
भुईंमा बामे सर्ने ती नानीलाई
आकाशको चरी बनाउँछ मस्तिष्कले
छिया-छिया भई फुटेका ती आँकुरालाई
एकबद्ध बनाउँछ मस्तिष्कले
आखिर
इतिहासको योद्धा र समानताको प्रतीक हो मस्तिष्क
आविष्कारको खानी र संस्कारको कुण्ड हो मस्तिष्क
प्राणीको सर्वोपरी धन र धरतीको हतियार हो मस्तिष्क
गरिबको अन्न र बालकको किताब हो मस्तिष्क ।

तर यो के
रङ्गमाचको नाटकजस्तै
अचेल टिभीहरुमा बिक्दैछ मस्तिष्क
फुटपातमा अभद्र तरिकाले
धुलोहरुसँग खेल्दैछ मस्तिष्क
के कृत्रिम सजावटको उत्कर्ष मात्र हो मस्तिष्क ?
कतै नेताहरुको भाषण जस्तै
विक्षिप्त त छैन मस्तिष्क ?

तैपनि कुन्नी किन
तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ ।

फूल र काँडा

सहिदको पवित्र हातले रोपेको फूल जोगाउन
मालीहरु आइसके
काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन्
तर काँडाहरुको छलकपटको सोचदेखि
सारा नेपाली जनता अघाइसके
किनकि
फूलहरुका कोपिला झन्-झन बढ्दै गइरहेका छन्
बगैचामा छैन त फूल आज के भो
मानिसको आत्मामा छ
मानिसको स्वच्छ मन र स्वच्छ सोचाइमा छ
हरेक सन्ततिहरुको जन्माइमा छ
खुसीको लहर फैलाउने जमातमा छ
अर्थबिनाका काँडाहरुको अब पालो पुगिसक्यो
अब पालो केबल फूलहरुको छ
फूल जोगाउने मालीहरुको छ
सहिदको पवित्र हातले रोपेको त्यो फूल जोगाउन
विजयी हामी हुनुपर्छ
सभ्यता तुहाउने काँडाहरुलाई जरैबाट उखेल्नुपर्छ ।

Monday, May 18, 2009

बगैंचा

फूलका साना थुङ्गाहरुमा
सपनाको महल सजाउँदा
रङ्गीचङ्गी बगैंचाको
प्रकृतिले प्रशंसा गर्दा
नीलो आकाशको
गर्जदो बादललाई छेकी
भुईँमा
मानिसको प्रतिबिम्ब खिच्दैछु म ।

जहाँ प्रकृतिको
मार्मिक अर्थ नै
थाहा हुन्न भने
रातको त्यो विवश बगैंचालाई
मालामा उन्नकहाँ सकिन्छ र ?

न जात, न साथ
न विदेशी आशीर्वाद
न नीति, अनीति
न कुनै राजनीति
कसैमा पनि पाउँदिन म
बगैंचाको अर्थ ।

जहाँ बगैंचा आफै
कहिले माली त
कहिले दास भइदिन्छ
जहाँ कसैको
आहत र राहतमा बगैंचा
अडिएको जस्तो भान हुन्छ
त्यहीनिर
यदि बगैंचालाई
साँच्चै बगैंचा बनाउन सके
देश नै विश्व बन्छ
विश्व नै देश बन्छ ।